काठमाडाैं – फूटबल विश्वकपको फाइनल खेल पुनः खेलाउनुपर्ने मागसहित फ्रान्सेली समर्थकहरूले १ लाख ९५ हजारभन्दा बढी हस्ताक्षर संकलन गरेका छन् ।फाइनलमा रेफ्रीले अनेकौं गल्ती गरेको भन्दै उनीहरूले यो खेल पुनः खेलाउनुपर्ने माग गरेका हुन् ।फाइनल खेल अतिरिक्त समयमा पुग्दा पनि ३–३ गोलको बराबरीमा रहेपछि पेनाल्टी शूटआउट गराउनुपरेको थियो ।
खेल हारेपछि फ्रान्सका समर्थकहरूले अन्लाइन निवेदन वेबसाइट मेसओपिनियन्समा आफ्नो नाम चढाएका छन् । अर्जेन्टिनाले दुईपटक गोल गर्दा रेफ्रीलाई धोका दिइएको उनीहरूको भनाइ छ ।
फ्रान्सका उस्मान डेम्बेलेले अर्जेन्टिनाका एन्जल डी मारियालाई बक्स एरियामा लडाएपछि लियोनल मेसीले पेनाल्टीमा गोल गरेका थिए ।तर फ्रान्स समर्थकहरू त्यो पेनाल्टी दिन नमिल्ने बताउँछन् किनकि दुई खेलाडीबीचको कन्ट्याक्ट एकदमै हलुका मात्र भएको थियो । डी मारिया खासै केही नभइकनै डी बक्समा लडेको उनीहरूको तर्क छ ।
त्यस्तै अर्जेन्टिनाको दोस्रो गोल पनि समस्याग्रस्त रहेको निवेदकहरूको भनाइ छ । क्रिस्टियन रोमेरोले मैदानको एक छेउमा किलियन एम्बाप्पेलाई लडाएको उनीहरूले दाबी गरेका छन् ।
त्यसपछि अर्जेन्टिनाले गरेको काउन्टर अट्याकका कारण बल मैदानको अर्को कुनामा पुगेको थियो अनि डी मारियाले गोल गरेका थिए ।पोल्यान्डका रेफ्री सिजमन मार्सिनियाकले फाइनलको दबाब खेप्दै राम्रो खेल खेलाएको भनी प्रशंसा गरिएको छ । तर फ्रान्सेलीहरू रेफ्री पूरै बिकेको आरोप लगाइरहेका छन् ।