काठमाडौं। नेपालमा युवाहरूको पीडादायी अवस्था झल्काउने तस्वीर अहिले सामाजिक सञ्जालहरूमा भाइरल छ। झट्ट हेर्दा दाजुभाइजस्तै देखिने फोटो दुई किशोरहरूको हो, जुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खिचिएको देखिन्छ।
जुँगाको रेखी बस्दै गरेका दुई कलिला किशोरहरू खादा लगाएका छन्। निधारमा राताम्मै टीका लगाएका उनीहरूले पछाडि झोला भिरेका छन्। विमानस्थलमा विदेश प्रवेश गर्ने टर्मिनलका खिचिएको सो फोटो हेर्दा आफन्तले बिदाई गरेको उनीहरू स्वदेश छाड्न लागेको भन्ने बुझ्न कठिन छैन।
फोटोमा देखिएको उनीहरूको अवस्थाले जो कोहीले पत्तो पाउँछ कि उनीहरू बाध्यताले विदेसिँदै छन्। भविष्य बनाउन पढ्ने-लेख्ने उमेरमा घर परिवार छाडेर विदेश जान लागेको ती दाजुभाइको फोटोले सबैको मन चसक्क बनाएको छ।
अब उनीहरूले गरिबीको चपेटाबाट माथि उठ्न र परिवार पाल्नकै लागि विदेशमा कठोर श्रम र पसिना बगाउनुपर्ने छ। उनीहरूको कलिलो अनुहारले १८ वर्ष पूरा पनि भएका देखिँदैन। उमेरै नपुगीकन उमेर बढाएर विदेश जान बाध्य भएको हुनसक्ने कतिपयको अनुमान छ।
दुई किशोरले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल छोड्नु अघि खिचेको फोटो एकाएक चर्चामा आएको छ। फेसबूक, ट्वीटर टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल सो फोटोले बेरोजगारी समस्या बारेमा बहस समेत निम्त्याएको छ।