अर्को पाँच वर्षपछि डडेलुधराबाट लड्छु, हारें भने सक्रिय राजनीति त्याग्छु : सगर ढकाल

समाचार

डडेल्धुरामा प्रतिनिधि सभातर्फको मतगणना सकिएको छ। यहाँबाट प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ। म दोस्रो भएको छु।दोस्रो हुँदा पनि म डडेल्धुराका मतदाताप्रति आभारी छु, धन्य छु! म डडेल्धुरा आएको चार महिना मात्रै भयो। केहीदिनअघि पहिलो पटक डडेल्धुरा टेकेको एउटा केटाले यही क्षेत्रबाट ६ पटक सांसद जितिसकेका र बहालवाला प्रधानमन्त्रीबीच चुनावी प्रतिस्पर्धा होला भन्ने धेरैलाई विश्वास लागेको थिएन। मलाई भने मैले देउवालाई हराउँछु भन्ने पूर्ण विश्वास थियो। मेरो त्यो विश्वासमा डडेल्धुराका १३ हजार ४२ जना मतदाताले साथ दिनुभयो। म उहाँहरू सबैप्रति आभारी छु।

चार महिनाअघि डडेल्धुरा पुग्दा मेरा लागि यहाँको भूगोल र स्थानीय भाषा दुबै नयाँ थिए। तर ती मेरा लागि ठूला चुनौती बनेनन्। अमरगढी आएको केहीदिनमै म डडेल्धुराका गाउँ-गाउँमा पुग्न थालें। हामी ४ जना साथीहरू मोटरसाइकलमा कुद्थ्यौं। माइक बोक्थ्यौं। आफ्ना कुरा डाँडामा गएर माइकमा भन्थ्यौं। टोल-टोलमा पर्चा बाँड्थ्यौं। चुनावी अभियानका क्रममा गाउँ जाँदा म कहिल्यै होटलमा बसिनँ। मान्छेका घरमै बसें। मानिसहरूले हामीलाई आफ्नो घरमा बास दिन्थे। राती अबेर भइसक्दा खाना बनाउन नसक्ने परिस्थितिमा हामी चाउचाउ खाएर सुत्थ्यौं। यसरी घर-घरमा बस्दा म आफ्ना कुरा सुनाउँथें। डडेल्धुराका समस्या के हुन् र तिनको समाधान कसरी गर्न सकिन्छ भनेर बताउँथे।

मानिसहरू मेरा कुरा चाख दिएर सुन्थे। राम्रो लाग्यो भन्थे।म डडेल्धुराका ५२ वटा वडामा दुई पटकसम्म पुगें। बजारका चोकमा केही मानिस भेला भएका ठाउँमा आफ्ना कुरा सुनाएँ। मेरा प्रतिस्पर्धी प्रधानमन्त्री देउवा निकै आर्थिक र प्रशासनिक शक्तिका रूपमा निकै बलियो हुनुहुन्थ्यो। उहाँ हेलिकप्टर ल्याएर आउनुभयो। ठाउँ-ठाउँमा दर्जनौं गाडी रिजर्भ गरेर सभा गर्नुभयो। मैले एउटा पनि सभा गरिनँ। कसैलाई पैसा बाँडिनँ। तैपनि मैले उहाँले ल्याएकोभन्दा आधा बढी मत ल्याएँ। उहाँको त्यति धेरै आर्थिक र प्रशासनिक शक्ति नभएको भए चुनावको नतिजा अर्कै हुन्थ्यो होलाजस्तो लाग्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *