रविलामिछाहरुको उदय हाम्रा लागि चुनौती होइन अवसर हो : जनार्दन शर्मा

समाचार

रुखसाना कौसरनेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको उदय आफूहरुका लागि चुनौती होइन अवसर भएको बताउनुभएको छ ।

एक अनलाइनको अन्तर्वार्तामा उहाँले यस्तो बताउनुभएको हो । ‘यसले दलहरूलाई अवसर दिएको छ । दलहरूले आफ्नो सङ्गठनात्मक क्षेत्रमा, आफ्नो वैचारिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा, सत्ता सञ्चालनको क्षेत्रमा र जनतासँग सम्बन्ध विकास गर्ने सन्दर्भमा गम्भीर रूपमा सोच्नुपर्छ भन्ने अर्थमा सकारात्मक रूपमा लिएको छु । यो परिणामले दलहरूलाई अवसर दिएको छ । हामीले अवसरको रूपमा लिनुपर्छ’– उहाँले भन्नुभयो ।

स्वतन्त्र पार्टीको जुन नतिजा आयो, त्यसमा तपाईंको के धारणा छ ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभएको छ– ‘मेरो कुनै कमेन्ट छैन । आएको परिणाम स्वीकार गर्ने हो । जनताले मत दिए, जिते । जनप्रतिनिधि भए । ती जनप्रतिनिधिहरूबीच सहकार्य गर्दै अगाडि बढ्ने हो । देशका लागि काम गर्ने हो । देशलाई राम्रो बनाउन सबै लाग्ने हो । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । अरू रूपमा लिन जरुरी छैन । प्रतिस्पर्धामा जनताबाट निर्वाचित भएर आए सकियो । यसलाई ठूलो रूपमा लिन जरुरी छैन ।’

दलीय व्यवस्थाको विरुद्ध यत्रो मत भन्ने रूपमा बुझ्न सकिन्छ होला नि ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभएको छ– ‘दलीय व्यवस्थाका विरुद्धमा मतभन्दा पनि दललाई नै मत आएको छ । स्वतन्त्र पार्टी पनि दल नै हो, यहाँ नयाँ दललाई मत आयो भन्नुपर्यो नि ’ राजनीतिमा नयाँ दलहरू जन्मिराख्छन् । विस्तारै एक्सनमा जाँदा त्यसका सैद्धान्तिक आधारहरू, त्यसका लक्ष्यहरू स्पष्ट हुँदै जान्छन् ।

त्यसपछि जनताले सरकारात्मक नकारात्मक रूपमा पहिचान गर्ने वातावरण बन्दै जान्छ । राम्रो गर्न दलहरू जन्मिए राम्रै हुन्छ । अहिलेको मुख्य कार्यभार सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने हो र समाजवादको आधार तयार गर्ने हो । यी मूल विषयमा जति पनि दलहरू आउँछन् । त्यतातिर जाँदा सकारात्मक नतिजा दिने हो ।’

तपाईंले भनेको मूल कुरामा नयाँ दलहरू कसरी आउलान् र ? भन्ने प्रश्नमा नेता शर्माले भन्नुभयो– ‘आज हामीले व्यवहारलाई हेर्नुपर्छ । आज उनीहरू यही व्यवस्था स्वीकार गरेर आएका हुन् । अहिलेको प्रणाली र पद्धति स्वीकार गरेर आएका छन् । भोलि व्यवहारमा कता जान्छ ? पछि देखिने कुरा हो । त्यसका लागि सैद्धान्तिक स्पष्टता चाहिन्छ, त्यो पक्कै भोलि देखिने छ । त्यो आउँदा जनताले विस्तारै बुझ्दै जान्छन् ।’

अहिलेका दलहरूको अकर्मण्यताले यो भोट उता गयो भन्न मिल्दैन ? भन्ने प्रश्नमा उहाँले भन्नुभएको छ– ‘भोट नआउनुलाई अकर्मण्यता र असक्षम भन्ने हो भने भोटै नहाल्ने व्यवस्था गर्ने हो त ? के एक दलीय व्यवस्था बनाउने हो ? हामीले लोकतान्त्रिक संविधान बनाएको के नराम्रो हो ? एउटा जनआधारित लोकतान्त्रिक व्यवस्था बनाएका छौँ, के नराम्रो हो ? समावेशी समानुपातिक बनाएका छौँ, के नराम्रो हो ? दलित, जनजाति, मुस्लिम लगायत समुदायको अधिकार स्थापित गरेका छौँ, के नराम्रो हो ?

हामीले के चाहिँ नराम्रो गर्यौँ ? अब संविधान कार्यान्वयनको चरणमा आइपुग्यौँ । संविधान घोषणापछिको एउटा निर्वाचन सकिएको छ । यसले केही समय लिन्छ । यसभित्र भ्रष्टाचारका कुरा छन् । जनतालाई डेलिभरी दिन नसकिएका कुराहरू छन् । त्यसलाई सुधार गरेर समयानुकूल कानुन बनाएर जानुपर्छ । अब मुख्य कुरा राज्यका संरचनाहरू बलियो बनाउनुपर्ने छ ।

राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो पनि हुनुपर्छ । राज्यका संरचनाहरू लोकतान्त्रिक र बलियो नहुँदा जनतालाई सजिलो र छिटो रूपमा डेलिभरी दिन सकिएको छैन । देशमा सुशासन स्थापित हुन सकेको छैन । हामीले गर्न खोजे पनि बाधा अड्नहरू छन् । त्यस्ता खालका माइन्ड सेटलाई परिवर्तन गरेर पुनर्संरचा गर्नुपर्ने छ । संविधानबमोजिम संरचनाहरू नयाँ बनाउनुपर्ने छ । राज्यको पुनर्संरचन नयाँ ढङ्गले नगरेसम्म र कर्मचारीतन्त्रको नयाँ ढङ्गले पुनर्संरचना नगरेसम्म देशमा सुशासन कायम गर्न सक्दैनौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *